
सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले जानकी प्राथमिक विद्यालय, बर्दघाट–३, लगुनाहालाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरिएको छ। जन्मदिनको विशेष अवसर पारेर गरिएको यो कार्यले सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री गोपिकृष्ण न्यौपानेले गर्नुभयो। प्रमुख अतिथिको रूपमा उपस्थित बर्दघाट नगरपालिका वडा नं. ३ का अध्यक्ष श्री प्रकाश चन्द्र अधिकारीज्यूले यस्ता कार्यक्रमहरूले विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

विशेष अतिथि कम्प्युटर एसोसिएसन नेपाल नवलपरासी शाखाका अध्यक्ष तथा दाउन्ने कम्प्युटर एण्ड ट्रेडर्स बर्दघाटका प्रोप्राइटर गणेश न्यौपानेले आफ्नै जन्मदिनको अवसरलाई शिक्षा क्षेत्रमा योगदान दिने माध्यम बनाउदाको खुसी व्यक्त गर्दै भन्नुभयो, “मैले जन्मदिनमा प्रबिधि मैत्री गुणस्तरीय शिक्षाका लागी एउटा इँटा थप्न पाएँ, यो मेरो लागि गर्वको कुरा हो। आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहनेछ।”
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानिय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले यस्ता सकारात्मक प्रयासले विद्यार्थीहरूलाई प्रविधिको पहुँचमा ल्याउन मद्दत गर्ने भन्दै हार्दिक स्वागत र धन्यवाद प्रकट गरेका थिए।
