बर्दघाट, जेठ २४ –माकर सामुदायिक सिकाई केन्द्रले बर्दघाट नगरपालिका वडा नं. ५ र ६ मा मानव अधिकार शिक्षा सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो।
प्रमुख प्रशिक्षकका रूपमा मानव अधिकार तथा शान्ति समाज, नवलपरासीका सभापति शिव पौडेल उपस्थित थिए। उनले मानव अधिकारका आधारभूत सिद्धान्त, नागरिकको कर्तव्य, लैङ्गिक समानता र सामाजिक न्यायका कुराहरूमा सहजिकरण गरेका थिए ।
तालिममा आमा समूहका दिदीबहिनीहरू, विपन्न वर्गका महिला तथा पुरुषहरू र स्थानीय समुदायका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले मानव अधिकारप्रतिको बुझाइ बढाएको र आफ्ना अधिकारबारे सचेत हुन सहयोग पुगेको अनुभव बताएका थिए ।
माकर सामुदायिक सिकाई केन्द्रले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक गतिविधिहरूलाई निरन्तरता दिने बताएको छ।